अन्ततः मैदानमा उत्रिए ज्ञानेन्द्र शाह, प्रचण्ड देखि देउवा सम्म थर्कमान !

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम गेट बाहिर रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नेहरूकै कारण मंगलबार राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो ।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएकाले पुतलीसडक, सिंहदरबार, माइतीघर, थापाथली जस्ता प्रमुख सडकखण्ड बिहानैबाट प्रभावित बनेको थियो ।

मन्त्रीहरूको सहभागिता सहित सालिक माल्यार्पणमा निस्किएकी राष्ट्रपति भण्डारी हिँड्ने सडक स्वतः सुरक्षार्थ शून्य बनाइएको थियो । बिहान ११ः३० बजे सालिकमा माल्यार्पण गरेर राष्ट्रपति भण्डारी फर्किइन् । त्यसपछि शुरु भयो, पृथ्वीजयन्तीको थप उत्सव ।

सरकारले नमनाउँदा पनि पृथ्वीजयन्ती मनाउँदै आएको राजावादी पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दलबल सहित माल्यार्पणमा पुगे । पृथ्वीजयन्तीको उत्सव थप उत्कर्षतिर बढ्यो ।

राष्ट्रपति भण्डारीले माल्यार्पण गरेको एक घण्टाभित्रै (मध्यान्ह १२ः३० बजे) पूर्वराजा ज्ञानेन्द्र शाह सालिक सामुन्ने पुगे । गणतन्त्र स्थापनापछि पहिलोपटक पृथ्वीgyanendra जयन्ती मनाउन सिंहदरबार अगाडि समर्थकहरूबीच गाडीबाट ओर्लिएका ज्ञानेन्द्र शाहको तस्वीरलाई चासोका साथ हेरिएको छ । राजतन्त्रको माग गर्ने समर्थकहरूको भीडबीच माल्यार्पण गरेर पूर्वराजा फर्किएपनि अस्तव्यस्त बनेको ट्राफिक व्यवस्थापन नियमित हुन भने दिउँसो ३ बजेसम्म कुर्नुपरेको थियो ।

सुरक्षा निकायले गृह मन्त्रालयलाई दिएको रिपोर्टअनुसार, पृथ्वीजयन्ती मनाउन चार हजार बढी मानिस सिंहदरबार परिसर पुगेका थिए । यो उपस्थितिबाट राजतन्त्र पुनर्स्थापना गर्न चाहने अभियन्ता र नेताहरू उत्साहित देखिन्छन् । ‘सरकारको अकर्मण्यताका कारण पृथ्वीनारायण शाहप्रति अनादर गरियो । जनताले त्यसप्रति मन दुखाएका छन्,’ राप्रपाका नेता मोहन श्रेष्ठ भन्छन्, ‘आजको जनसहभागिताले आगामी दिनमा राजसंस्थाका निम्ति जनता सडकमा आउँछन् भन्ने प्रष्ट संकेत पाएका छौं ।’ राजधानी उपत्यकासहित ७७ जिल्लामै सानोठूलो सहभागितामा पृथ्वीजयन्ती मनाइएको उनी बताउँछन् ।

वर्तमान व्यवस्था पक्षधर नेताहरू चाहिँ ठूलो संख्याका समर्थकसहित ज्ञानेन्द्र शाहको उपस्थितिलाई लिएर चिन्तित देखिन्छन् । ‘जनताले चाहेजसरी पर्फमेन्स विगतदेखिका सरकारबाट हुन सकेन । जसका कारणले जनतामा एकप्रकारको असन्तुष्टि छ,’ नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेल भन्छन्, ‘अब पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमलाई गम्भीर भएर अगाडि बढाउनुपर्छ ।’

राजनीतिक विश्लेषक हरि रोका भने ज्ञानेन्द्र शाहलाई आफ्नो पुर्खाको पूजा गर्ने छुट गणतन्त्रले दिएको बताउँछन् । ‘यो त कुनै जातिले आफ्नो कूल देवता सम्भिmए जस्तै हो । त्यस्तो कुरा गर्न गणतन्त्रमा छुट छ । ज्ञानेन्द्रलाई पनि छुट छ’, रोका भन्छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी जस्ता दलहरुको कमजोरीको फाइदा राप्रपा र राजावादीले उठाएको उनी बताउँछन् ।

दलहरूकै टेको

पूर्वराजा ज्ञानेन्द्रको स्वागतसहित पृथ्वीजयन्ती मनाउन सिंहदरबार परिसरको सडकमा पुगेका जनसहभागिताको प्रमुख व्यवस्थापन चाहिँ राप्रपाले गरेको थियो । ‘राजधानीका तीन वटै जिल्लाबाट जनसहभागिता उत्साहित रह्यो’, राप्रपाका नेता श्रेष्ठ भन्छन् ।

राप्रपाले २०६२/०६३ सालको जनआन्दोलनबाट राजतन्त्रको अन्त्य गरेपनि राप्रपा नेपालले वर्सेनि यो दिवस मनाउँदै आएको छ । पूर्वराज्ञा ज्ञानेन्द्र आफैं सडकमा आएर यति ठूलो जनसहभागितामा पृथ्वीजयन्ती मनाइएको भने यो पहिलोपटक हो । पृथ्वी जयन्तीमा राष्ट्रपति भण्डारीको उपस्थिति भने दोस्रोपटक हो ।

राष्ट्रपति र पूर्वराजा दुवै प्रमुख आकर्षण बनेर यो दिवस मनाउने परिस्थिति भने गणतन्त्र पक्षधर दलहरुकै कारण सिर्जना भएको थियो । २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले एघार वर्ष अगाडि मनाउन छोडिएको पृथ्वीजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गरेको थियो । त्यही निर्णयका आधारमा, राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीका हैसियतमा देउवाले गणतन्त्र स्थापनापछि पहिलोपटक पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे । यसपछि सरकारी निकायबाटै यो दिवस मनाउने गरिएको छ ।

२४० वर्षे राजतन्त्र अन्त्यसँग मनाउन छोडिएको पृथ्वीजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’ घोषणा गर्नुमा भने राजावादी दल राप्रपासँग गठबन्धनको सरकार बनाउनु प्रमुख कारण थियो । २०७२ को संविधान जारी भएपछि एमाले-माओवादी गठबन्धन सरकार बन्यो । गठबन्धन सरकारमा कांग्रेस सहभागी नभएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कमल थापालाई उपप्रधानमन्त्री बनाए । आलोपालो प्रधानमन्त्रीको सहमति ओलीले नमानेको भन्दै फेरि माओवादी-कांग्रेस गठबन्धन सरकार बन्यो । प्रचण्ड र देउवा पालैपालो प्रधानमन्त्री बने ।

कमल थापा फेरि देउवा सरकारमा उपप्रधानमन्त्री बने । थापा उपप्रधानमन्त्री रहेकै बेला गठबन्धन सरकारले २७ पुसलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गर्‍यो । विश्लेषक रोका, २०५२ पछि नै प्रमुख दलहरुले राजावादी दल राप्रपालाई बोक्दै आएको बताउँछन् । ‘कहिले कांग्रेसले, कहिले एमालेले राप्रपालाई नेता मान्यो । प्रधानमन्त्री बनाएर सरकारमा सहभागी भयो’, रोका भन्छन् ।

हुनपनि २०६३ सालको जनआन्दोलन दबाउन ज्ञानेन्द्र शाहलाई साथ दिएका कमल थापा गणतन्त्रको उपप्रधानमन्त्री बन्ने परिस्थिति भने तीन दलबीचको शक्ति संघर्षकै कारण संभव भयो । यदि संविधान जारी गर्न एकठाउँ उभिएका कांग्रेस, एमाले र माओवादीबीच सत्ता संघर्ष चलेको थिएन भने कमल थापाको सत्तारोहणको अवसर कमजोर हुन सक्थ्यो ।

तर दलहरुबीचको सत्ता संघर्षकै कारण पहिलो संविधानसभाबाट गणतन्त्र घोषणा गर्दा विपक्षमा उभिएको राप्रपालाई २०७४ सम्म आइपुग्दा पालैपालो साथ दिने परिस्थिति बन्यो । २०७४ को स्थानीय तह चुनावमा एमालेले राप्रपासँग गठबन्धन नै गर्यो । काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य मेयरको उम्मेद्वार बन्दा राप्रपाका राजाराम श्रेष्ठ उपमेयरका उम्मेद्वार थिए ।

२०७४ मंसिरको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपासँग तीनै दलले (एमाले-माओवादीको वाम गठबन्धन र कांग्रेस) गठबन्धन गरे । एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापामा वाम गठबन्धनसँग गठबन्धन गरेरै राप्रपाका राजेन्द्र लिङ्देन (अहिले कमल थापालाई हराएर पार्टी अध्यक्ष छन्) प्रतिनिधि सभा सदस्य निर्वाचित भए । वाम गठबन्धनको समेत उम्मेद्वार बनेर लिङ्देनले झापा-३ मा कांग्रेसका गणतन्त्रवादी नेता कृष्णप्रसाद सिटौलालाई हराएका थिए ।

मेची बाहेक भने राप्रपाले कांग्रेससँग गठबन्धन गरेको थियो । अर्थात्, अन्य दलसँग गठबन्धनमा २०७४ को निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ लाख १८ हजार ३१८ मत पायो । प्रत्यक्ष गठबन्धन बाहेक गणतन्त्र पक्षधर दलहरूको असफलताको लाभ पनि राप्रपाले उठाउँदै आएको छ । २०६४ को पहिलो संविधानसभामा गणतन्त्रको विपक्षमा रहेको तत्कालीन राप्रपा नेपालले चार सिट मात्रै जितेको थियो ।

तर त्यो संविधानसभाले संविधान जारी गर्न सकेन । २०७० को दोस्रो संविधानसभामा कमल थापाले २५ सिट सहितको चौथो ठूलो दलको नेता बन्ने अवसर पाए । जब संविधान जारी भयो त्यसपछि भने फेरि राप्रपाको साइज खुम्चिएको छ । २०७४ को निर्वाचनमा राप्रपाको पार्टी मत (समानुपातिक) १ लाख ९६ हजार ७८२ (२.०६ प्रतिशत) मात्रै आयो ।

‘नेपालमा राजनीतिक पार्टीहरुको अर्को विकल्प हुँदैहुँदैन भन्ने त होइन । तर नेपालमा अहिले नै गणतन्त्र उल्ट्याउन सक्ने तागत राप्रपासँग छैन,’ विश्लेषक रोका भन्छन्, ‘एक प्रतिशत हाराहारीको मत पचास पुग्ने तागत राप्रपासँग छैन ।’ राप्रपा र राजावादीले दलहरुले बनाउने गठबन्धनको लाभ पाएपनि व्यवस्था उल्ट्याउन जनताले मात्रै सक्ने विश्लेषक रोका बताउँछन् । उनी भन्छन्, ‘प्रणालीगत (व्यवस्था) समस्या आउने भनेको जनता विपक्षमा हुँदा मात्रै हो । अहिले ज्ञानेन्द्र र ज्ञानेन्द्रले पक्षपोषण गरेको राप्रपाले गणतन्त्र उल्ट्याउने क्षमता राख्छन् भन्ने मलाई लाग्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *