पूर्वराजा ज्ञानेन्द्रले खुलाए कमल थापालाई हराउनुको कारण ! के भने पूर्वराजाले ?

कमल थापा हार्नुको रहस्य खुलेको छ । पञ्चायत समर्थकले बहुदलमा जन्माएर दरबारको छत्रछायामा हुर्किएको दल हो- राष्ट्रिय प्रजातन्त्र पार्टी।

राजसंस्था ढले पनि गणतान्त्रिक राज्य व्यवस्थामा त्यो पार्टीलाई टिकाइराखेर यहाँसम्म ल्याउने व्यक्ति हुन्, कमल थापा।

ढलिसकेको राजतन्त्रात्मक व्यवस्था पुन: फर्काउँछु र नेपाललाई हिन्दु राष्ट्र नै कायम गराउँछु भन्दै पछिल्लो १५ वर्षदेखि लगातार राप्रपाको नेतृत्व सम्हालेका थापालाई यसपालिको महाधिवेशनबाट युवा पुस्ताका राजेन्द्र लिङदेनले पाखा लगाएका छन्।

२०६२/२०६३ को जनआन्दोलन-२ को बलमा ढलेको राजसंस्था र पन्छाइएको हिन्दु राज्य फर्काउने एकसूत्रीय लक्ष्यका साथ राप्रपा स्थापना गर्दा थापालाई लिङ्देनले बलियो साथ दिएका थिए। थापाको विरासत ढालेर र पार्टीमा आफूभन्दा कैंयन वरिष्ठहरूलाई पछि पार्दै राजतन्त्रको हिमायतीको रूपमा लिङ्देनले राप्रपामा आफूलाई उदय गराएका छन्।

थापाको इतिहास हेर्ने हो भने उनी चानचुने राजावादी हैनन्। राजतन्त्रप्रति बफादार थापाको राजनीति पनि बहुदल आएपछि सुरू भएको हैन। उनी पञ्चायतकालमै त्यसको बलियो खम्बाका रूपमा स्थापित थिए। पञ्चायतको जगजगी चलेका बेला उनी पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष चुनिएका थिए।

चार दशक लामो राजनीतिक इतिहास भएका थापा चार दिनदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा आफू जित्नेमा ढुक्क थिए। यसकारण पनि उनी ढुक्क थिए कि लिङ्देन उनीभन्दा धेरै कनिष्ठ नेता हुन्, ‘काँचा’ हुन्। र राप्रपाका एकसेएक हस्तीहरूको साथ उनलाई नै थियो।

तिनै कनिष्ठ ठानिएका लिङ्देनले थापा आफैंले स्थापना गरेको राप्रपामा उनकै सत्ता उल्टाइदिए।

लिङ्देनले थापालाई २२७ मतले पराजित गरे। आइतबार बिहान सकिएको मतगणनामा लिङ्देनले १८४४ र थापाले १६१७ मत ल्याए।

राप्रपामा आफ्नो विरासत गुमाउनमा थापाका आफ्नै कमजोरी छन्। लामो समयदेखि उनी आलोचित भए पनि थापाले तिनलाई सामान्य ठाने। थापा चतुर राजनीतिक खेलाडी त हुन् नै। समकालीन नेपाली राजनीतिमा क्षमता भएका राजनीतिज्ञ पनि हुन्। लामो राजनीतिक जीवनले उनका कमजोरी पनि त्यतिकै उजागर गरेको छ।

२०४६ सालमा बहुदल आएपछि दरबारनिकट रहेर पञ्चायतलाई सहयोग गरिरहेका पञ्चहरू दल खोल्ने निर्णयमा पुगे। पूर्वप्रधानमन्त्रीहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले सुरूमा मिलेरै दल खोले। त्यो लामो समयसम्म चलेन। दुई टुक्रा भयो। राप्रपा भइरहने सत्ता संघर्षमा कमल थापा एक प्रमुख पात्र थिए।

थापा राजनीतिक वृत्तमा एकाएक चर्चामा आएको भने २०५३ सालमा हो। जतिबेला नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा राप्रपा-एमाले सरकार बनेको थियो। २०५३ फागुन २९ मा चन्द प्रधानमन्त्री भएका थिए।

चन्द प्रधानमन्त्री बनेको छ महिनापछि नै राप्रपामा बिग्रह आयो, जब कांग्रेसले सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बनाएर राप्रपा-कांग्रेसबीच सत्ता गठबन्धनको प्रस्ताव राख्यो।

चन्द सरकारमा मन्त्री रहेका राप्रपाका नेताहरू नै राप्रपा-एमाले गठबन्धन तोड्न र कांग्रेससँग मिलेर सरकार चलाउन आतुर देखिए।

त्यसमध्ये एक थिए – कमल थापा। थापाले आफूलाई छोड्न लागेपछि चन्दले एउटा टिप्पणी गरे, जुन नेपाली राजनीतिमा बलियो विम्ब बनेर बस्यो। चन्दले त्यसलाई ‘मुसा प्रवृत्ति’ भने र त्यसको व्याख्या गरे।

उनले भनेका थिए, ‘जहाज डुब्न लागेको थाहा पाएपछि सबैभन्दा पहिले मुसाहरू जहाज छोडेर भाग्छन्।’

उनले गरेको यो टिप्पणीले थापालाई लामो समयसम्म पछ्यायो। सत्तामा पुग्न थापाले फेरिरहने समीकरणलाई टिप्पणीकारहरू ‘मुसा प्रवृत्ति’ भनेर घोचपेच गरिरहन्छन्।

हुन पनि उनी विचार मिल्ने र नमिल्ने दुबै राजनीतिक शक्तिसँग सत्ताका लागि उदारपूर्वक समीकरण गर्छन्। मन्त्री हुनको लागि गरिने त्यस्ता समीकरणले राप्रपाले बोक्ने राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा कमजोर बन्दै गयो। एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर २०७२ मा संविधान जारी भएपछि सरकार बनाए। त्यो गठबन्धनले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा अघि बढायो। राजतन्त्रका हिमायती थापा गणतन्त्रको ‘सिम्बोल’का रूपमा रहने राष्ट्रपति पदमा भण्डारीलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थक बने। यस्ता कतिपय घटनाले कमल थापालाई राजतन्त्र वा हिन्दु राज्य हैन, सत्ता चाहिएको हो भन्ने मत बलियो बन्दै गयो।

त्यो पार्टीलाई थापाले सम्झनलायक बनाएको भनौं वा जनताले अलिअलि पत्याएको २०७० सालको चुनावमा थियो।

पार्टीलाई केही आशलाग्दो बनाएका थापाले २०७२ सालमा संविधान निर्माणमा असहमति त राखे।

तर, त्यसपछि तुरून्तै गणतान्त्रिक संविधानमाथि टेकेर बनेको सरकारमा भने बलियो उपस्थितिसाथ सत्तारोहण गरे। यसलाई थापाको मुसा प्रवृत्तिको पुनरावृत्तिको संकेतका रूपमा कतिले व्यंग्य गरे।

थापाका यस्तो कमजोरी नै लिङ्देन समूहलाई चुनाव जित्ने आधार नै बन्यो। लिङ्देनले खुल्लमखुला भनेका थिए, ‘पार्टीको नेतृत्व यही रहला, तर पार्टी कहिल्यै अगाडि बढ्नेवाला छैन, दुई चार सिट आउला, मन्त्री भइएला, पार्टीको एजेन्डा बिक्ने छैन।’

थापा हार्नुमा दोस्रो कारण राप्रपाका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनी हुन्। पार्टी एकता जोगियोस् भनेर यसपालि उनीहरू दुबैले नेतृत्वमा दाबी छोडेका थिए। लोहनीले खुला रूपमै लिङदेनलाई सघाए। राणाले आफ्ना समर्थकलाई लिङदेनलाई भोट नहाल, थापालाई हाल भनेनन्। राणा थापाको पक्षमा चुनावको अन्तिम समयसम्म नखुल्दा र लोहनीले उनको पक्षमा बोल्दा यी दुबै हस्तीका समर्थकले थापालाई नेतृत्वबाट हुत्याउन लिङदेनलाई सहयोग गरे।

त्यसमाथि पार्टीमा भित्रभित्रै पुस्तान्तरणको आगो सल्केको थियो। थापाले त्यसको भेउ पाएनन्, त्यसलाई वास्तानै गरेनन्। उनी पार्टी एकता, पार्टीको एजेन्डालाई स्थापित गर्छु भनी अध्यक्ष उठ्ने निर्णयमा पुगे, तर चुनाव प्रचार-प्रसारमा त्यति ध्यान दिएनन्।

थापा पार्टीको आन्तरिक चुनावमा कहिल्यै प्रतिस्पर्धा गरेका व्यक्ति थिएनन् सायद त्यसैले पनि उनले आफ्नो प्रतिस्पर्धी पनि देखेनन्। लिङदेनले महाधिवेशनभर प्रतिनिधिसँग भोट माग्दा थापा बन्दसत्रमा नै व्यस्त थिए।

थापा पराजित हुनुको अर्को कारण निर्मल निवास र राजसंस्था हो।

२०६३ सालमा प्रतिनिधि सभा पुनर्स्थापनासँगै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल अन्त्य भयो र थापा पनि गृहमन्त्रीबाट बिदा भए।

थापाको दरबारसँग सम्बन्ध त्यहीँबाट तिक्ततापूर्ण छ भन्ने गरिन्थ्यो। २०६३ सालको जनआन्दोलनताका गृहमन्त्री हुँदा थापाले दरबारलाई नै ‘मिसगाइड’ गरेको आरोप कहिलेकाहीँ लाग्ने गर्छ।

थापाले भने बोलीमै सही गणतन्त्र फाल्ने, राजतन्त्र र हिन्दु राष्ट्र बनाउने एजेन्डा सधैँ बोके। राजा वा राजसंस्थाबारे कहिल्यै नराम्रो भनेनन्। हिजोका दिनसम्म नेपालमा राजतन्त्रको सबैभन्दा ठूलो प्रवक्ता थापा नै हुन्। तिनै थापालाई यसपालिको चुनावमा निर्मल निवासले नसघाएको आरोप छ। चुनाव हारेपछि थापा पनि रिसले चुर भएका छन्।

उनले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रलाई मेन्सन गरेर ट्वीटरमै ‘धन्यवाद’ दिएका छन्।

थापाले ट्वीटमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजतन्त्र बोकेर हिँडेको पुरस्कार आज पाइयो भनेका छन्। उनले मेन्सन गरेको ट्वीटर ह्यान्डल पूर्वराजाले चलाउँछन् या चलाउँदैनन् भन्ने यकिन भने छैन।

‘मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो,’ उनले भनेका छन्, ‘सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

निर्मल निवास गणतान्त्रिक मोर्चासँग साक्षात्कार गरेको मन नपराएर थापासँग चिढिएको छ भन्ने गाइँगुइँले राप्रपा महाधिवेशनको वातावरणमा तरंग ल्याइदिएकै थियो।

त्यो तरंगबीच लिङ्देनले असली राजावादी अब आफू बनेको र निर्मल निवासले पत्याएको सञ्चार मतदातामा गराए।

थापा निर्मल निवासबाट छाया पर्दै गएका रहेछन् भन्ने पनि प्रष्ट भएको छ। अब उनको निर्मल निवाससँग सम्बन्ध के-कसरी अघि बढ्छ, हेर्न बाँकी छ।

थापासँगै लामो सयमसम्म काम गरेको ठूलो समूह पनि यसपालि उनीसँग चिढिएको थियो। उनीहरूले पनि लिङदेनलाई साथ दिए।

थापा हार्दाहार्दैको तात्तातो परिस्थितिमा उनका समकक्षी नेताहरूको आक्रोश देखियो।

‘राजेन्द्र लिङ्देनको विजय सम्पूर्ण पार्टीको, राष्ट्रवादी, हिन्दुवादी र राजसंस्थावादीहरूको हो,’ अघिल्लो एकता महाधिवेशनमा थापाको प्रतिद्वन्द्वी बनेका प्रदीपविक्रम राणाले भने, ‘कमल थापाले लिएको नीतिको हार हो। राजसंस्था र हिन्दु राष्ट्रको नीतिको विजय हो, हामी व्यक्तिको पछि लाग्दैनौं, लिङ्देनको जित हिन्दु र राजसंस्थाको लागि हिँडिरहेका सबैको हो।’

कमल थापा २०१२ सालमा डिल्लीबजारमा जन्मेका थिए। उनका बुबा छत्रबहादुर थापा सेनाका कर्णेल थिए।

छत्रबहादुर २०१६ सालमा अवकाश भएका थिए। त्यसको ६ वर्षपछि २०२२ सालमा स्थायी बसोबासका लागि परिवारसहित हेटौंडातिर लागे।

काठमाडौँको सेन्ट जेभियर्स स्कुलमा पढ्दै गरेका थापा पनि हेटौंडा नै पुगे।

२०२५ सालमा माध्यमिक तहको पढाइ नसकी थापा पुनः काठमाडौं आएका थिए। काठमाडौंको पद्मोदय हाइस्कुलमा पढ्न थाले। त्यहीँ उनले फुटबल खेले।

राष्ट्रिय फुटबल खेलाडी हुँदै उनी अखिल नेपाल फुटबल संघको अध्यक्ष भए। राष्ट्रिय खेलकुद परिषदको सदस्य पनि भए।

२०४४ मा दशरथ रंगशालामा दुर्घटना भएपछि उनले एन्फा अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

थापाको सत्तारोहण भने शेरबहादुर देउवा नेतृत्वको सरकारमा २०५२ बाट सुरू भएको थियो।

त्यो सरकारमा उनी एक वर्ष कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकास मन्त्री भए।

लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनी २०५३ सालमा आवास तथा भौतिक योजना र परराष्ट्र मन्त्री भएका थिए।

सूर्यबहादुर थापा नेतृत्वको सरकारमा उनी २०५४ सालमै केही समय परराष्ट्र र कृषि मन्त्री भए।

सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा उनी २०५४ सालदेखि एक वर्ष परराष्ट्र मन्त्री भएका थिए।

थापा नेतृत्वकै सरकारमा उनी २०६० देखि २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री बनेका थिए।

राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा उनी २०६२ देखि २०६३ सम्म गृहमन्त्री भएका थिए।

गणतन्त्रपछि केपी ओली नेतृत्वको सरकारमा उनी २०७२ देखि २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री भए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनी २०७३ फागुनदेखि चैतसम्म उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री भएका थिए।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी २०७४ मा उपप्रधानमन्त्री नियुक्त भएका थिए।

गणतन्त्र घोषणापछि थापा प्रतिनिधित्व गरेका तीन वटा गणतान्त्रिक सरकार उनी र उनको पार्टीको विचारभन्दा धेरै टाढा थिए।

माओवादी त उनको पार्टीको विचारसँग कहिल्यै नजिक छैन, एमाले र कांग्रेस हिन्दु राष्ट्र र राजतन्त्रको विचार त्यागिसकेका शक्ति हुन्।

राप्रपाको एजेन्डा हिन्दु राष्ट्र र राजतन्त्रलाई जनता पत्याएका छैनन्। तर, पछिल्लो समय हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा जनमत बढेको छ भन्ने आँकलन उनको पार्टीको छ।

लिङ्देनको काँधमा त्यो आँकलनलाई जनअनुमोदन गराउँदै २०७० सालको चुनावमा जस्तै उल्लेख्य सिट ल्याएर थापालाई देखाउने चुनौती छ।

६७ वर्षीय थापासँग पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वमन्त्री भइसकेको अनुभव र पार्टी सञ्चालनको ज्ञान थियो। यसको तुलनामा एकपटक पनि मन्त्री नभएका र पहिलो पटक सांसद निर्वाचत भएका लिङ्देनसँग ठूलो संगठन वा पार्टी नेतृत्व पंक्तिको अनुभव नै छ।

सायद फ्रेस अनुहारकै रूपमा लिङदेनलाई पार्टी कार्यकर्ताहरूले रुचाए। आम मतदातामा राप्रपाको घट्दो समर्थन बढाउने चुनौती अब पूर्वी जिल्ला झापाबाट उदाएका लिङदेनको काँधमा आएको छ।

Leave a Reply

Your email address will not be published.